Tuesday, April 11, 2017

पुरानै वर्णविन्यासलाई मान्यता

vijay g.m | 10:32 PM |


चैत्र ३०, २०७३- सरकारले अब पुरानै वर्णविन्यासलाई मान्यता दिएको छ । शिक्षा मन्त्री धनीराम पौडेलको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ६५ औ बैठकले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले ०६७ मा निकालेको नेपाली बृहत् शब्दकोशलाई मुख्य मानक बनाउने निर्ण गरेको हो ।

तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले ०६९ साउन २३ मा नयाँ मानक बनाउने निर्णय गरेपछि भाषा बिग्रिएको भन्दै विरोध हुँदै आएको थियो । ‘चार वर्षअघि ल्याएको मानकलाई मंगलबार बसेको परिषद् बैठकले खारेज गरेको छ,’ पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने, ‘अब चाँडै कार्यान्वयनमा लैजान्छौ ।’ पछिल्लो निर्णय अनुसार सुन्दा उच्चारण एउटै लाग्ने तर अर्थ भिन्न हुने फुल, फूल, पुरा, पूरा, जुन, जूनजस्ता शब्दहरूको हिज्जे नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शब्दकोशमा प्रविष्टि भएअनुसार लेखिने भएको छ ।

जात, थर बुझाउने पहिचानसँग जोडिएका शब्दका अन्तिम ईकार र ऊकार दीर्घ लेखिने भएको छ । यो निर्णय अनुसार अधिकारी, राई, कामी, छेत्री, भट्टराई, बजगाईँ, पुजारी, डकर्मी, धोबी, तेली, हिन्दू, लिम्बू, थारू, ज्यापू जस्ता थर यस अघि ह्रस्व लेखिन्थ्यो । परिषदको बैठकले जातले प्रचलनमा ल्याएका सायमि जस्ता प्रयोगलाई भने यथावत् लेख्ने निर्णय गरेको छ ।

एकार्थी स्थान, दिनको नाम जस्ता शब्दलाई पदयोग गरेर लेखिने भएको छ । एकार्थी लघु रूपमा रहेका समस्त शब्द (भक्तपुर, ललितपुर, विश्वविद्यालय) लाई पदयोग गरेर लेखिने भएको छ । त्यस्तै दुई शब्दबाट बनेका (शुभकामना, प्रधानमन्त्री, शुभयात्रा) एकार्थी शब्दलाई पदयोग गरेर लेखिने भएको छ । यसअघि यस्ता शब्द दुई टुक्रा बनाइएको थियो । ‘द’ वर्णसँग जोडिएर आउने शब्दलाई संयुक्त व्यञ्जनअनुसार र अन्य संयुक्त व्यञ्जनलाई नेपाली बृहत् शब्दकोश, २०६७ अनुसार लेखिने भएको छ । यो निर्णयअनुसार यसअघि प्रयोगमा रहेको विद्यालयलाई अब विद्यालय, गौतम बुद्धलाई बुद्ध लेखिने भएको छ । ‘निर्णयमा नसमेटिएका विषय क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित अद्यावधिक शब्दकोश अनुसार गरिनेछ,’ परिषद्को निर्णयमा भनिएको छ ।



 
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner