Tuesday, April 11, 2017

आक्रमण र दुर्व्यवहार नरोके संसद् चल्न नदिने एमालेको चेतावनी

vijay g.m | 10:35 PM |


चैत्र ३०, २०७३- प्रमुख प्रतिपक्षी नेकपा एमालेले तराई–मधेसमा आफ्ना नेता–कार्यकर्तामाथि आक्रमण र दुर्व्यवहार भएको भन्दै सरकारसँग जवाफ मागेको छ । मंगलबारको संसद् बैठकमा एमाले सांसदले यो विषयलाई गम्भीर रूपमा उठाउँदै सरकारबाट जवाफ नपाएसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन् ।

सप्तरीस्थित पार्टी स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलको घरमा प्रवेश गरेका मधेसी मोर्चा कार्यकर्ताले परिवारका महिला सदस्यमाथि दुव्र्यवहार गरेको तर त्यसमा सरकार मूकदर्शक बनेको एमालेको आरोप छ ।

तराई–मधेसमा एमाले नेता–कार्यकर्तामाथि आक्रमणका बेला प्रधानमन्त्री र गृहमन्त्री मुस्कुराएर बसेको टिप्पणी गर्दै एमाले नेता रवीन्द्र अधिकारीले सरकारले देशमा ‘गुन्डाराज’ स्थापित गर्न खोजेको आरोप लगाए । ‘मधेसमा हिँडडुल गर्न, घरमा बस्न, एमाले भएर बोल्न, हिँड्न र सभा गर्न नपाइने ?’ उनले भने, ‘यो कस्तो प्रजातन्त्र हो ?’

एमाले केन्द्रीय सदस्य सुमन प्याकुरेलको परिवारमाथि दुव्र्यवहारमा संलग्नलाई कारबाही नहुँदा यादवको परिवारमाथि आक्रमण भएको उल्लेख गर्दै अधिकारीले स्थानीय निर्वाचनका मुखमा तराईमा शान्तिसुरक्षाको वातावरण बनाउन सरकार गम्भीर नभएको बताए । अधिकारीका अनुसार गत आइतबार सप्तरीस्थित मण्डलको घर प्रवेश गरेका मोर्चाका दिनेश यादवसहितका कार्यकर्ताले परिवार सदस्यलाई दुव्र्यवहार गरेका थिए । ‘मानवअधिकार उल्लंघनको यति गम्भीर घटनामा सरकार किन उदासीन र गैरजिम्मेवार बनेको हो ?’ उनले भने, ‘आज मधेसमा एमालेमाथि भएको छ, भोलि देशका अरू भागमा हुन सक्छ ।’

स्थानीय निर्वाचन आउन ३४ दिन मात्रै बाँकी रहँदा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले ‘गाईजात्रा’ देखाइरहेको अधिकारीले टिप्पणी गरे ।



 
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner