Tuesday, April 11, 2017

अष्ट्रेलियाको शिक्षा वर्गीकरणमा नेपाल दक्षिण एसियाका अन्य देशभन्दा अगाडि

vijay g.m | 10:29 PM |


चैत्र ३०, २०७३- अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि भिषा प्रदान गर्न गरिने शैक्षिक वर्गीकरणमा नेपाल भारत पाकिस्तान लगायतका दक्षिण एसियाली मुलुकभन्दा अघि रहेको छ ।

यही मार्चको अन्तिम सातामा आन्तरिक रुपमा परिवर्तन गरिएको तर सार्वजनिक नगरिएको ‘एसेसमेन्ट लेभल’ मा नेपाल भारत, पाकिस्तान लगायतका अन्य एसियन मुलकहरुभन्दा एक स्थानमाथि दोस्रो तहमा रहन सफल भएको हो । यो एसेसमेन्ट लेभलको तहले कुन देशका बिद्यार्थीहरुलाई अष्ट्रेलियामा उच्च शिक्षाका लागि भिषा पाउन सहजता प्रदान गर्दछ भन्ने निर्क्यौल गर्दछ । दोस्रोभन्दा कम लेभलमा पर्ने देशका बिद्यार्थीहरुलाई अध्ययन भिषाका लागि अन्य देशहरुको तुलनामा अहसज हुने यस क्षेत्रमा काम गरिरहेका जानकारहरु बताउँछन् ।

अष्ट्रेलिया सरकारले यहाँका विश्वबिद्यालय र कलेजहरुलाई जिम्मेवार बनाउनका लागि यो नियम सुरु गरेको हो । जस अनुसार यहाँका शैक्षिक संस्थाहरु पनि उनीहरुले दिने शिक्षा र सुविधाका आधारमा तहगत रुपमा बर्गिकरण गरिएको छ । यहाँका नाम चलेका बिश्वबिद्यालयहरु पहिलो नम्बरमा छन भने अन्य कलेजहरु सोही अनुसारले दोस्रो तेस्रोमा रहेका छन् । ‘एसेसमेन्ट लेभलमा दोस्रो नम्बरमा पर्नु भनेको तल्लो नम्बरमा रहेका देशहरुभन्दा केही सहज रुपमा अध्ययन भिषा पाउन सकिन्छ भन्ने हो ।’ यसै क्षेत्रमा एक दशकदेखि काम गरिरहेका परामर्शदाता संजीव पाण्डे सुनाउँछन् ।

पाण्डेका अनुसार अष्ट्रेलियाली सरकारले यो देश यो तहमा रहेको छ भनेर आधिकारिक रुपले सार्वजनिक गर्ने गरेको छैन् । तरपनि, भिषा प्रक्रियामा कुन देश कुन स्तरमा छ भनेर निर्क्यौल भने गर्न सकिने उनको भनाई छ । अर्कोतिर, नेपाल जस्तो मुलुक दोस्रो तहको वर्गीकरणमा पर्नु भनेको खुशीको कुरा भएको सुनाउँछन् । ‘यसको मतलब अध्ययनका लागि आएका नेपाली बिद्यार्थीहरुले अध्ययनमा गम्भिरता देखाएका छन भन्ने प्रमाण हो,’ पाण्डेको भनाई छ ।

केही साताअघि अष्ट्रेलियाली विदेशमन्त्री जुलि बिसपले नेपाली बिद्यार्थीहरु अन्तर्राष्ट्रिय बिद्यार्थीको आंकडामा आठौं नम्बरमा पर्ने तथ्य सार्वजनिक गरेकी थिईन् । अष्ट्रेलियामा उच्च शिक्षाका लागि आउने नेपाली बिद्यार्थीहरुको संख्या समेत बर्षेनी बढ्दै गएको छ । अहिले अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाहरुमा १८ हजार ७ सय ७७ नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको तथ्यांक उपलब्द्ध छ । जुन अघिल्लो बर्षको यही अवधिमा १६ हजार ४ सय ४७ रहेको थियो ।

 
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner