Sunday, April 16, 2017

म भारत जाँदा विदा दिनु पर्दैन : राष्ट्रपति

vijay g.m | 9:58 AM |
काठमाडौं ३ बैसाख – राष्ट्रपति विद्यादेवी भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने बताएकी छन्। राष्ट्रपति कार्यालयमा आइतबार कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारसँगको छलफलमा राष्ट्रपति भण्डारीले आफू विदेश भ्रमणमा जाँदा विदा दिन नपर्ने बताएकी हुन्।

‘बैठकमा राष्ट्रपति भारत जाँदा मैले विदा दिने कुरा सुनिएको छ, सरकारले विदा दिन लागेको हो र? भनी सोधेको थिएँ’, राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले भने, ‘उहाँले सरकारले के गर्छ आफूलाई जानकारी नभएको तर विदा दिनु पर्दैन भन्नुभयो।’ राष्ट्रपति भण्डारी भारतको पाँच दिने राजकीय भ्रमणका लागि सोमबार नयाँदिल्ली प्रस्थान गर्दैछन्। उनी प्रस्थान गर्ने दिन विदा दिने÷नदिनेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ। यद्यपी राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा सरकारी विदा दिने चलन पूर्वराष्ट्रपति रामवरण यादवका पालादेखि तोडिएको छ।

सन् २०१० मा तत्कालीन राष्ट्रपति यादवको भारत भ्रमणका बेला गृह मन्त्रालयले परम्परा पछ्याउँदै विदाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। तर मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गरेन। त्यसअघि नेपालका राष्ट्राध्यक्ष राजा हुँदा राजाको हरेक विदेश भ्रमण शुरु हुने दिन र स्वदेश फिर्ता हुने दिन राष्ट्रिय विदा दिने चलन थियो। गत वर्ष भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सरकारले एक दिन सार्वजनिक विदा दिएको थियो। सेतो पाटि बाट
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner