Saturday, April 15, 2017

नेपाल-चीन संयुक्त सैन्य तालिम आजदेखि : अमेरिका र भारतसँग पहिल्यै

vijay g.m | 6:52 PM |
काठमाडौ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सोमबारदेखि संयुक्त सैन्य तालिम हुँदै छ । नेपाली सेनाको विशेष फौज मानिने युद्धभैरव गण र चीनको विशेष फौजबीच संयुक्त तालिम हुन लागेको हो । नेपाली सेनाका अनुसार तालिममा भाग लिन चिनियाँ सैन्य टोली काठमाडौं पुगेको छ । तालिमको नाम ‘सगरमाथा फ्रेन्डसिप २०१७’ दिइएको छ । १२ वैशाखसम्म संयुक्त सैन्य तालिम हुनेछ । यसअघि २८ माघका लागि तालिम तय भएको थियो । नेपालको तयारी नपुगेकाले तालिम सरेको हो ।

‘काठमाडौं उपत्यकामा संयुक्त सैन्य तालिम हुन्छ र यो सानो संख्यामा हुन्छ,’ सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले नयाँ पत्रिकासँग भने । नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा तालिम आयोजना भएको नेपाली सेनाले जनाएको छ । चीनले आफ्नो वार कलेजमा नेपाली सेनालाई बर्सेनि चार सिट छुट्याएको छ । नेपाली सेनालाई भारतले एक, अमेरिकाले दुई, बंगलादेश, मलेसिया, क्यानडा र पाकिस्तानले एक–एक सिट दिँदै आएका छन् ।

छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरूलाई निरन्तरता दिने क्रममा नेपालमा पनि तालिम हुन लागेको नेपाली सेनाले जनाएको छ । विश्वको गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिँदै गएको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी पहिलोपटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुक्त सैन्य तालिम गर्न लागिएको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेनाको विज्ञप्तिमा भनिएको छ, ‘द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरूबाट सैनिक ज्ञान तथा पेसागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कूटनीतिक सम्बन्ध अरू बलियो बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।’

संयुक्त तालिम गर्ने विषयमा नेपाल र चीनका सैन्य अधिकारीबीच पुस पहिलो साता नै सहमति भएको थियो । काठमाडौं आएका चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चिनियाँ पक्षले प्रस्ताव गरेको थियो भने नेपालले सहमति जनाएको थियो । त्यही सहमतिका आधारमा चीनले सैन्य तालिम घोषणा गरेको थियो । ‘सुरुमा सैन्य अभ्यास भनिएको थियो, तर विभिन्न कारणले अहिले सैन्य तालिम भनिएको छ,’ एक सैन्य अधिकारीले भने ।

सैन्य तालिमबारे नेपाली र चिनियाँ सेनाबीच दुई तहमा वार्ता भएको थियो । फागुनमा युद्धकार्य महानिर्देशक उपरथी विनोद श्रेष्ठको चीन भ्रमणका वेला ३ देखि १२ वैशाखसम्मको मिति तय भएको सैनिक स्रोतले बतायो ।

हालसम्म नेपालको संयुक्त सैन्य अभ्यास भारत र अमेरिकासँग मात्रै भएको थियो । पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य तालिम हुन लागेको हो । गत वर्ष प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणमा चिनियाँ सेनाप्रमुखसँग यसबारे कुराकानी भएको थियो भने रक्षामन्त्री बालकृष्ण खाणको हालै चीन भ्रमणमा पनि चिनियाँ अधिकारीले कुराकानी गरेका थिए ।
Share this article

0 comments:

Post a Comment

 
Copyright © 2015 NEWS SANCAR
Distributed By My Blogger Themes | Template Design By BTDesigner